स्थानिय तहहरुमा सामाजिक परिक्षण गर्नुपर्नेमा जोड
- बुधबार भदौ १६ , २०७८
विष्णु अधिकारी, गुलरिया । सामाजिक जवाफदेहिताका लागि स्थानीय पालिकाहरुका जनप्रतिनिधिहरुले सामाजिक परिक्षण गर्नुपर्ने विषयमा छलफल भएको छ । प्याक्ट नेपालले विगत ३ वर्षदेखि सामाजिक जवाफदेहिताका विषयमा विभिन्न छलफलहरु चलाउदै आइरहेको छ ।
मानव जिवनका लागि संवेदनशिल स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गतिविधिका साथै अन्य जनसरोकारका विषयमा सामाजिक जवाफदेहितामा छलफल चलाउदै आएको प्याक्ट संयोजक दुर्लभ वोहोराले बताएका छन् । सन २०३० सम्ममा दिगो विकास लक्ष्य पुरा गर्न पनि सामाजिक जवाफदेहितालाई आत्मसाथ गर्नुपर्ने कार्यक्रमका सहभागिहरुले छलफलमा आफ्नो धारणा राखेका थिए । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा गुलरिया नगरपालिकाले ऐन, कार्यविधि बनाउन नसक्नुको कारणका विषयमा सहभागिहरुले प्रश्न गरेका थिए । सहभागिहरुले जनप्रतिनिधिहरुमा जवाफदेहिता, पारदर्शिता, जन उत्तरदायित्वका लागि पनि सार्वजनिक परिक्षण गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा गुलरिया नगरपालिकाले टोल विकास संस्थाको कार्यविधि तयार गरि लागु गरिसकेको, नागरिक सहायता कक्षबाट जनतालाई सेवा दिइरहेको गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले जानकारी दिएका थिए । अधिकृत अर्यालले नगरपालिकाले सामाजिक सुरक्षा, लेखा प्रशासन तथा स्थानीय कर लाई अनलाइन पद्धतीमा लगी सकेको बताएका छन् । जनप्रतिनिधिहरुले टोल विकास संस्थालाई गतिशिल बनाई कार्य गरेमा जनप्रतिनिधि र नागरिकका विचमा सुमधुर सम्बन्ध कायम हुने भएकाले सबै वडामा लागु गर्नुपर्ने कुरामा सरोकारवाला पक्षले सुझाएका थिए ।
सहभागिहरुले पालिकाहरुले जनसरोकारका विषयहरुमा ऐन, कार्यविधि बनाएर काम गर्न ढिलाई भएकाले स्थानीय पालिकाहरुको वेरुजु बढेको बताएका थिए । ऐन, नियम, कानुन भयो भने कर्मचारी तथा जनप्रतिनिधिहरुलाई पनि त्यसैमा टेकेर काम गर्न सजिलो हुने भएकाले चाडो भन्दा चाडो विषयगत शाखाहरुको सुशासनका लागि ऐन तथा कार्यविधि बन्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमा गुलरिया नगरपालिकाका जनप्रतिनिधि, तथा विषयगत शाखाका प्रमुखहरुले आफ्नो शाखाको गतिविधिका वारेमा जानकारी गराएका थिए । कार्यक्रमा गुलरिया नगरपालिकाका जनप्रतिनिधी, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, सरोकारवाला सामाजिक संस्थाका प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम गुलरिया नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सावित्रा गौतमको सभापतित्वमा भएको छ ।