fbpx

राष्ट्रिय भारोत्तोलनमा बर्दियाले ६ र प्रहरीले ५ स्वर्ण पदक उचाले

राष्ट्रिय भारोत्तोलनमा बर्दियाले ६ र प्रहरीले ५ स्वर्ण पदक उचाले

मनोहर पोखरेल, राजविराज । राजविराजमा जारी राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, बाँके र दाङ्ले समेत पहिलो स्वर्ण पदक हात पारेका छन् ।

भारोत्तोलनका राष्ट्रिय खेलाडी देवसुन्दर यादवको प्रथम स्मृतीमा भइरहेको प्रतियोगितामा पुरुष सिनियरतर्फ ५५ किलो तौल समूहमा नेपाली सेनाका तुलाराम महतोले स्वर्ण पदक हात पारेका हुन् । नेपाल प्रहरीका गणेश राणाभाट द्वितीय र बर्दियाका रामकुमार थारु तृतीय भए । उनीहरुले क्रमशः स्न्याच र क्लिन एण्ड जर्क गरी कुल १८३, १६० र १५४ भार उचाले ।

जुनियरतर्फ ५५ किलो तौल समूहमा सशस्त्र प्रहरीका दिलिप यादव, नेपाल प्रहरीका लालबाबु पासवान र बाँकेका बिनित योगी थारु क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनीहरुले क्रमशः कुलतर्फ १५७, १५६ र १४७ भार वहन गरे। युथतर्फ बाँकेका बिनित योगी थारु प्रथम घोषित भए। बर्दियाका सन्दिप थारुले कुल १२२ र पर्साका छोटाराजन पटेलले कुल ९० भार उचालेर द्वितीय र तृतीय भए ।

सिनियर महिलातर्फ ६१ किलो तौलसमूहमा कुल १०२ किलो उचालेर दाङकी रामकुमारी चौधरी प्रथम भइन्। कुल एक सय किलो उचालेर नेपाली सेनाकी प्रशंसा पुन द्वितीय र ९० किलो तौल उचालेर बाँकेकी जयकला थापा मगर तृतीय भइन् ।

सिनियर महिलातर्फ ७१ किलो तौलसमूहमा नेपाल प्रहरीकी जुनुमाया छन्त्याल प्रथम र नेपाली सेनाकी शारदा चौधरी द्वितीय भइन्। उनीहरुले क्रमशः कुल १४४ र १३६ किलो तौल उचाले। सप्तरीकी शान्ति चौधरीले कुल १२० भार उचालेर तृतीय स्थानमा चित्त बुझाइन् ।

जुनियरतर्फ स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ५० गरी कुलमा ९० केजी भार बहन गरेर द्वितीय भएकी बर्दियाकी ललिता हेमरान युथतर्फ प्रथम घोषित भइन् । जुनियरमा प्रथम भएकी बर्दियाकी नन्दा थापा मगर, द्वितीय भएकी सप्तरीकी खुशी चौधरी र तृतीय भएकी बाँकेकी सामना थारु नै युथतर्फ समेत प्रथम, द्वितीय र तृतीय घोषित भए ।

प्रतियागितामा २ स्वर्ण पदक थपेर बर्दियाले सबैभन्दा बढी ६ स्वर्ण पदक हासिल गरेको छ भने नेपाल प्रहरीले १ स्वर्ण पदक थप गरी कुल ५ स्वर्ण पदक हासिल गरेर पछ्याइरहेको छ। सप्तरीकी दुई महिला खेलाडीले जिल्लाका लागि २ स्वर्ण पदक दिलाएर तृतीय स्थानमा छ ।

प्रतियोगितामा विभागीय तीन टोलीसहित २० वटा जिल्लाका ४७ महिला र ७३ पुरुष खेलाडी सहभागी छन् । सप्तरीबाट २०४२ सालदेखि खेल्न सुरु गरी २० वटा राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका र पछिल्लो समय निर्णायकको भूमिका निर्वाह गरिरहेका राजविराज–९ निवासी देवसुन्दर यादवको २०७६ कात्तिक १४ गते निधन भएको स्मृतिमा राष्ट्रिय प्रतियोगिता भएको हो ।
अन्नपूर्ण पोस्ट्बाट … https://annapurnapost.com/news/176568

तपाइको मत