अपुताली जग्गा सम्बन्धी बढैयाताल गाउँपालिकाको पत्रकार सम्मेलनप्रति ध्यानाकृष्टगर्दै अख्तियारका उजुरीकर्ताको प्रेसमीट
- सोमबार भदौ १४ , २०७८
चुरेकुञ्ज, गुलरिया । बढैयाताल गाउँपालिका वार्ड नम्वर ६ स्थित चिर्कु तेलीको नाउँमा रहेको अपुताली जग्गा सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको उजुरीको सम्वन्धमा गाउँपालिकाले भाद्र १० गते गरेको पत्रकार सम्मेलन प्रति नेपाली कांग्रेस बढैयाताल गाउँपालिका कार्यसमितिमा रहेका अपुताली जग्गा सम्वन्धी अख्तियारका उजुरीकर्ताहरुले ध्यानाकर्षण भएको बताएका छन् ।
गुलरियामा आयोजित पत्रकार सम्मेलन मार्फत नेपाली काँग्रेस बढैयाताल गाउँपालिका सहसंयोजक मानबहादुर बुढा, नेता शुक्रराज सापकोटा, बढैयाताल गाउँपालिका वडा नम्वर २ अध्यक्ष पदका प्रत्यासी विनुप्रसाद पाण्डे लगायतका उजुरीकर्ताहरुले गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष दीपा गौतमले गरेको पत्रकार सम्मेलन प्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
अपुताली जग्गा छानविनसहित कारवाहीको मागगर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा उजुरी दिएका हामीहरु उपर गाउँपालिकाले आफ्ना गल्ती ढाकछोप गर्न अपराधलाई बिषयान्तरगर्दै आयोजना गरेको पत्रकार सम्मेलन र सम्मेलनमा जारी प्रेस विज्ञप्ती प्रति आफूहरुको घोर आपत्ती रहेको पत्रकार सम्मेलनका आयोजक विनु पाण्डेले बताएका छन् । स्थानिय सरकारका अध्यक्ष, उपाध्यक्ष जस्तो गरिमामय पदमा आसिन ब्यक्तीहरुले पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तीमा प्रयोग गरेका भाषाशैली तथा शब्दहरुले आफूहरुको सार्वजनिक छविमा आँच आएको पाण्डेको भनाई छ ।
बढैयातालका चिर्कु तेलीको निसन्तान भई मृत्यु भएपछि अपुताली जग्गा ०७७ चैत्र ६ मा भारतीय नागरिक जैनव तेलीको नाममा नामसारी भै दुईदिन पछि चैत्र ८ मा सैजाद अलि तेली र चैत्र १० मा अञ्जना दाहालको नाममा जग्गा पास भएको प्रमाणहरुसहित सचेत नागरिकको हैसियतले जिम्मेवार राजनितिक दल नेपाली काँग्रेसको कार्यकर्ताका हैसियतले विनु प्रसाद पाण्डे, मानबहादुर वुढामगर, शुक्रराज सापकोटा, उत्तम कोईराला, जोगराम चौधरी र दुर्गा बहादुर वलीले अख्तियारमा उजुरी दिएको पत्रकार सम्मेलनमा पाण्डेले जानकारी दिएका छन् ।
साविक मैनापोखर गाउँ विकास समिति वार्ड नम्वर १ हाल बढैयाताल गाउँपालिका वडा नम्वर ६ मा अवस्थित कित्ता नम्वर ६३५, १०१, १०९, ४५१, ४५८ र ४३९ को जग्गाहरु छानविन गरी गाउँपालिकाको स्वामित्वमा ल्याई भ्रष्टाचार गर्ने उपर कारवाही गर्न पत्रकार सम्मेलनमा उनीहरुले माग गरेका छन् । गाउँपालिकाको पत्रकार सम्मेलनमा आफूहरु माथी लगाइएको आरोपहरु खारेजगर्दै गैर नेपालीको नाउँमा दर्ता अपुताली जग्गा सरकारीकरण गर्नुपर्ने बताईएको छ । आफूहरु प्रति पत्रकार सम्मेलनमा प्रयोग गरिएका भाषाशैली विरुद्ध अदालत जाने जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै तत्कालिन गाउँ बिकास समितिका अध्यक्ष एवम् प्रदेस सभा सदस्य भुवनेश्वर थारुले गाउँपालिकाले पत्रकार सम्मेलनमा आफ्नो नाम समेत जोडेर आफूपन्छिन खोजेकोभन्दै तत्कालिन समयमा अपुताली जग्गाको कुनैपनि काम कारवाही नगरिएको प्रष्टपार्दै आफ्नो कुनै संलग्नता नरहेको खण्डन गरेका छन् ।