अपुतालि जग्गा प्रकरण : बढैयाताल गाउँपालिकाको प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृतको संलग्नता नरहेको स्पष्टोक्ति
- आइतबार भदौ १३ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नम्वर ६ साविक मैनापोखर गाउँ विकास समिति वडा नम्वर १ को चिर्कु तेलीको नाममा रहेको अपुतालि जग्गा नामसारी, सिफारिश लगायतका कुनैपनि प्रकरणमा गाउँपालिकाको संलग्नता नरहेको बढैयाताल गाउँपालिकाले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत विभिन्न मिडियामा नाम जोडिएपछि बढैयाताल गाउँपालिकाले पत्रकार सम्मेलनगर्दै अपुतालि जग्गा प्रकरणमा पालिकाको कुनै संलग्नता नरहेको जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले स्थानिय सरकार, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत र बढैयाताल गाउँपालिकालाई राजनितिक पूर्वाग्रहको नियतबाट बदनाम गर्ने उद्देश्यले ना जोडिएको बताए । अपुतालि जग्गा प्रकरणमा गाउँपालिकाको प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत संलग्न भै कुनै निर्णय, सिफारिश, सर्जमिन लगायतका कार्यहरु नगरेको स्पष्ट पारेका हुन् ।
राजनितिक प्रतिशोध र चरित्र हत्या गर्ने उद्देश्यले चिर्कु तेलीको नाउको अपुतालि जग्गा सम्वन्धी भुमिसुधार तथा मालपोत कार्यालय बर्दियाले गरेको नामसारी सम्वन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र वुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा दिएको उजुरी झुटा रहेको अध्यक्ष श्रेष्ठको दावी छ । राजनितिक हत्या गर्ने उद्देश्यले पूर्वाग्रही ब्यक्तीहरुले मिडियामा दिएको सार्वजनिक बक्तब्य प्रति उनले भत्र्सना गरेका छन् ।
विक्रम सम्वत् २०५९ सालमा तत्कालिन गाउँ विकास समितिका अध्यक्ष, उपाध्यक्ष, निवर्तमान अध्यक्ष लगायतको पालामा चिर्कु तेलीको अपुतालि जग्गा हकवालाको नाममा नामसारी गर्न सिफारिस भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले प्रष्ट्याए । विहिवार अपरान्ह्मा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष तथा जग्गा सम्वन्धित वडा नम्वर ६ का वडा अध्यक्षले आफ्ना भनाई पत्रकार सामु राखेका थिए ।