ठाकुरबाबा नगरपालिकाको बार्षिक गतिविधिको समिक्षा
- बुधबार भदौ ९ , २०७८
हरिवंश पाण्डे, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाले तीन चरण गरी गत आर्थिक बर्षको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालीकाले वर्षभरि आर्थिक, सामाजिक र भौतिक विकासका कार्यहरु, आय व्यय तथा प्रभाव गरिएका सेवाको बारेमा जनप्रतिनधि, राजनैतिक दल, विभिन्न संघ संस्था लगायत पत्रकारसँग कार्यक्रमगर्दै नगरको प्रगति समिक्षा सम्पन्न गरेको छ । नगरपालिकाले पत्रकार मार्फत नगरपालिकाका ९ वटै वार्डमा संचालित कार्यक्रमको स्थलगत अवलोकन पश्चात भुरीगाँउमा समिक्षात्मक कार्यक्रम आयोजना गरेको हो ।
ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले आ व २०७७÷७८ मा भए गरेका सम्पूर्ण कार्यहरूको यथार्थ विवरण बारे जानकारी गराउनु भएको थियो । शिक्षा, स्वास्थ्य, कृषि लगाएत विभिन्न शाखा अन्तरगत सम्पन्न भएका कार्यहरू एंव हाल सञ्चालनमा रहेका र सम्पन्न हुन बाँकी कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । नगरपालिका बाट संचालित विविध कार्यक्रमका इस्टिमेट सम्झौता र लागत खर्चका बारे समेत प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी गराउनु भयो ।
कार्यक्रममा पत्रकारहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा आ ब २०७७÷७८ मा नगरपालीकाले गरेको पारदर्शिता, विकास आयोजनामा भएका ढिलासुस्ती र त्यस बाट नागरिकले भोग्नु परेको दुःख, बेरुजु, लगाएतका विषयमा पत्रकारहरुले जिज्ञासा राखेका थिए । पत्रकारहरुको प्रश्नको उत्तर कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख घन नारायण श्रेष्ठ र कार्यक्रमका अतिथि तथा उप प्रमुख कृष्ण कुश्मा थारुले उत्तर दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख घननारायण श्रेष्ठ अथितिमा उप प्रमुख कृष्ण कुश्मा थारु र वार्ड अध्यक्षहरु रहनु भएको थियो । कार्यक्रममा विभिन्न शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी चक्रपाणि आचार्यले गर्नु भएको थियो ।