धातुको बुद्धको मूर्ति बेचबिखनको आरोपमा पाँचजना पक्राउ
- बिहिबार भदौ ३ , २०७८
चुरेकुञ्ज, गुलरिया । प्रहरीले धातुको वुद्धको मूर्तिसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा बर्दिया सदरमुकाम गुलरिया नगरपालिका वडा नम्वर ७ बजार स्थित एक होटलमा छापामार्दै प्रहरीले मूर्ति किनवेचको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा केही मानिसहरुले पुरातात्विक सयौं बर्ष पुरानो बहुमुल्य धातुको बुद्धको मुर्ति होटलमा बसेर करोडौं रुपैयामा किनबेच गर्दैछन् भन्ने थाहा पाएपछि स्थानिय विजया गेष्ट हाउसको कोठा नम्वर ३२८ मा खानतलासी गर्दा धातुको बुद्धको मूर्ति सहित मानिस फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए ।
प्रहरीले धातुको मूर्ति किनवेचको आरोपमा बर्दियाको मधुवन नगरपालिका वडा नम्वर १ बस्ने बर्ष ३४ का उज्ज्वल रोकाय, वडा नम्वर ९ का ३४ बर्षिय अमृत राई, गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी बर्ष ४० का निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका वडा नम्वर ९ निवासी ३२ बर्षिय ईश्वरी प्रसाद उपाध्याय र जिल्ला जाजरकोट वारेकोट गाउँपालिका वडा नम्वर २ वस्ने बर्ष २९ को मगबहादुर नेपालीलाई नियन्त्रणमा लिएको डीएसपी शाहीले जानकारी दिए ।
बरामद गरिएको एउटा धातुको बुद्धको मूर्तिको तौल ७ किलो ७०२ ग्राम र उचाई ९ दशमलव ५ ईन्च छ । मूर्ति सहित सबैजनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।