रोष्टर शिक्षक लक्षित भर्चुअल तालिम सम्पन्न
- बुधबार भदौ २ , २०७८
मिन अधिकारी, राजापुर । बर्दियामा शिक्षकको पेशागत सहयोगका लागि रोष्टर शिक्षक लक्षित भर्चुअल तालिम दिईएको छ । प्रारम्भिक कक्षा शिक्षक पेशागत सहयोग व्यवस्थापन कार्यविधि २०७७ मन्त्रालय सचिव स्तरीय बैठकबाट स्वीकृत भएपछि सामुदायिक नेपाली माध्यमका शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षणको दोस्रो चरणको तालिम दिइएको आयोजक शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ ।
एकीकृत पाठ्यक्रम लागु भएपछि प्रारम्भिक तह कक्षा १–३ मा शिक्षण गर्ने सामुदायिक विद्यालयका शिक्षकहरुको कक्षा अवलोकन, नमूना पाठ प्रदर्शन र पेशागत सहयोगका लागि पालिकामै विज्ञ शिक्षकको समूह बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बाँकेममा रहेको इजीआरपी क्षेत्रीय कार्यालयका प्रमुख हेमबहादुर लम्सालले वताउनु भयो । तालिममा सहभागि पहिलो चरण कै विज्ञहरुलाई प्रशिक्षण दिएपछि अन्य जिम्मेवार निकाय तथा सरोकारवाला पक्षसँग समन्वय गरी शिक्षण सुधारमा सहयोग हुने तालिमको उद्देश्य रहेको बर्दिया शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख रेविका अमात्यले वताउनु भयो ।
आधारभुत तहमा रहेका वालवालिकाहरुको जग मानिने पढाइ सीपको विकासका लागि सञ्चालित तालिममा सहभागि बर्दिया र दाङका प्रशिक्षार्थीलाई आफ्नो काँधमा शैक्षिक क्षेत्रको विकासका लागि अझैँ ठूलो जिम्मेवारी आएको बुझेर कार्य क्षेत्रमा सहयोग गर्न पनि उहाँले आग्रह गर्नु भएको छ । शैक्षिक तालिम केन्द्र ईटीसी रुपन्देहीका प्रशिक्षकहरु माधव पोख्रेल, हिमलाल खनाल र मनोज श्रीमलले तालिममा सहजीकरण गर्नु भएको थियो ।
बर्दिया र दाङका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख तथा अधिकृत, क्षेत्रिय कार्यालयका २ जना अधिकृत, बर्दिया र दाङका प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका जिल्ला संयोजकहरु, पालिकामा रहेका शिक्षा शाखा प्रमुखहरु, प्रत्येक स्थानीय तहका १ जना रोष्टर प्रशिक्षकहरुको सहभागिता रहेको थियो । पहिलो चरणमा ५ वर्ष सम्म सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रम पछि दोस्रो चरणका लागि भाद्र १ र २ गते २ दिनसम्म भर्चुअल रुपमा तालिम सञ्चालन गरिएको राजापुरका रोष्टर प्रशिक्षक पुरुषोत्तम खनालले जानकारी दिनु भयो ।
