कृषिमा प्रविधिको प्रयोग बढाउँदै आत्मनिर्भर बनाईने
- शुक्रबार श्रावण २९ , २०७८
विष्णु अधिकारी, गुलरिया । एकिकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय बर्दियाले गत तथा चालु आर्थिक बर्षको कार्यक्रमको बारेमा सार्वजनिकीकरण गरेको छ । कार्यालयले चालु बर्षको कार्यक्रम र बजेटका विषयमा सरोकारवालाहरुलाई जानकारी दिएको गराएको हो ।
कृषि तथा पशुपन्छि पालनमा प्रविधिको प्रयोग गरेर कृषि उत्पादनमा बृद्धिगरि आत्मनिर्भर बनाउन कार्यालयले सहयोग पुर्याएको कार्यालयले जनाएको छ । कार्यालयले गत बर्ष स्मार्ट कृषि गाउँ, बंगुर मिसन, करार खेती, मत्स्य ह्याचरी उत्पादन जस्ता कृषि सम्बन्धि कार्यक्रम गरी युवाहरुलाई व्यवसायिक कृषि तथा पशुपन्छि पालनमा उत्साहित गरेको कार्यालय प्रमुख विनोद घिमिरेले बताएका छन् ।
गत बर्ष कार्यालय स्थापना भएपछि भेटेरीनरी अस्पताल, भेटनरी प्रयोगशाला, सर्जरी वार्ड तथा कृषक सहयोगी कक्ष मार्फत सेवा दिईरहेका छौ । उनले भने गुलरिया नगरपालिका वडा नं. १ मा बायोग्यास सहित भकारो सुधार कार्यक्रमले २५ घरधुरीका यादव समुदायमा परिवर्तनको संकेत देखिएको तथा बंगुर स्रोत केन्द्रका लागि बारबर्दिया र बाँसगढी क्षेत्रलाई बंगुर हबको रुपमा विकसित गर्दैछौं ।
चालु बर्षका लागि विशेष गरि करार खेती कार्यक्रम, सुलभकर्जा सहजिकरण तथा व्याजमा अनुदान कार्यक्रम, कृषिकर्मी रोजगारी कार्यक्रम र उत्पादन प्रतिफलमा आधारित प्रोत्साहन अनुदान लगायतका रणनितिक महत्वको कार्यक्रम गर्ने योजना रहेको जानकारी घिमिरेले दिए । यस बर्ष कार्यालयले स्मार्ट कृषि गाउँ कार्यक्रम, बंगुर, लसुन प्याज, मकै, दलहन र आलु मिसन कार्यक्रम, कृषि तथा पशुपन्छि श्रोतकेन्द्र कार्यक्रम, हरित स्वयंसेवक विकास तथा परियोजन, कोभिड विशेष मागमा आधारित कृषि, पशुपन्छि विकास लगाएत कृषि विकास कार्यक्रम गर्ने लक्ष्य उनले प्रष्ट्याए ।
कार्यालयले कृषकलाई वीर र शुद्ध नश्लको सहज पहुँचमा विस्तार गरि बर्दियालाई वीउ तथा पशु नश्लमा आत्मनिर्भर बनाउनुका साथै बजारीकरण व्यवसायिकरणमा जोड दिने लक्ष्य कार्यालयको छ । कृषि तथा पशु विकासमा चालु आर्थिक बर्ष ०७८÷०७९ का लागि १७ करोड, ९३ लाख रुपैया विनियोजन भएको जनाईएको छ । कार्यक्रममा कृषिजन्य उत्पादन सँग सरोकार राख्ने व्यवसायिक कृषि तथा पशुपन्छि फर्मका सरोकारवाला निकायहरु सहभागी थिए ।