fbpx

खुकुलो बन्दै पर्यापर्यटन

खुकुलो बन्दै पर्यापर्यटन

चुरेसमाचार, बर्दिया । कोरोना भाईरस संक्रमणको चरम जोखिमका बेला बन्द गरिएका पर्यटकीय गन्तब्यमा अवस्थित होटल ब्यवसायहरु संचालनमा आउन थालेका छन् । सरकारले निकुञ्ज लगायतका पर्यटकिय गन्तब्यहरुमा निश्चित मापदण्ड सहित दिएको प्रवेश अनुमतिले आन्तरिक पर्यटकहरु भित्रिन थालेपछि पर्यापर्यटन खुकुलो बन्दै गएको छ ।
विश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) ले श्रृजना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजरगदै गतबर्ष चैत्र महिना देखि पर्यटकिय गतिविधि बन्द गरिएपछि देशकै पर्यटन ब्यवसायहरु चौपट बनेका छन् । चाड, पर्वलाई लक्षितगर्दै आन्तरिक पर्यटन प्रर्बद्धन गर्न स्वास्थ्य सुरक्षाका मापदण्ड सहित निकुञ्ज प्रवेश खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठलले बताए । निकुञ्जका शर्त परिधि भित्र रही नियमानुसारको अनुमती लिई पर्यटकिय गतिविधिहरुका लागि प्रवेश गर्न चाहाने पर्यटकलाई कार्तिक महिनाको शुरुवातसँगै निकुञ्ज प्रवेश खुला गरेका छौं ।
निकुञ्जमा पर्यटकिय गतिविधि अन्र्तगत जंगल सफारी र जंगल वाकका लागि निकुञ्जमा अनुमति दिईएको छ । उनले भने कोरोना महामारी थप फैलिदैंगए अनुमति रद्द हुनसक्छ । निकुञ्ज प्रवेशका वेला नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनागर्दै अनिवार्य रुपमा मास्क, भौतिक दुरी लगायत सेनीटाईजर प्रयोग गनुपर्छ । आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले निकुञ्जमा निश्चित मापदण्ड बनाई अनुमति दिईएको छ । निकुञ्जमा जंगल ड्राईभका लागि सवारी साधनको क्षमताको ६० प्रतिशत मात्र पर्यटक राख्दै वाकमा जाँदा समेत अनिवार्य रुपमा नेचरगाईड साथमा लैजानुपर्ने प्रावधान तोकिएको छ ।
श्रेष्ठले थपे जंगल वाकको हकमा एकपटकमा गाईड सहित ४ जना मात्र प्रवेश गर्न पाउने ब्यवस्था छ । निकुञ्जले तोकेको रुटमा मात्र पर्यटकिय गतिविधिको लागि अनुमति दिईएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका लागि पर्यटकिय गतिविधि संचालन आचारसंहिता ०७६ को पूर्ण पालना गर्नुपर्ने ब्यवस्था छ । पर्यटकिय गतिविधिहरु गर्दा गराउँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ नियमावली २०३० तथा बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली २०५३ को पूर्ण पालना गर्नुपर्छ । निकुञ्जमा थोरै गतिविधिका लागि अनुमति दिएर अवस्था हेछौं । महामारी घट्दै गए पूर्ण रुपमा निकुञ्जका गतिविधि खुला गर्ने हाम्रो तयारी छ प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने ।
निकुञ्जले प्रवेश अनुमति दिएसँगै थोरै मात्रामा भएपनि स्वदेशी पर्यटकहरु आउन थालेका हुन् । दैनिक केही पर्यटकहरु त आउँछन् तर पहिला जस्तो चमक धमक छैन । ठाकुरद्वारा स्थित जंगलहेवन रिसोर्टका संचालक कृष्णप्रसाद भट्टराईले भने । जंगल सफारीसँगै क्याम्पिगहरुलाई पनि अनुमति दिए थप पर्यटक भित्रिने थिए । पर्यापर्यटन खुकुलो भएको छ । थप पर्यटक भित्र्याउन सरकारले अझै पहल गर्नुपर्छ । स्वदेशी पर्यटकहरु भित्रिएपनि ब्यवसायलाई केही राहत पुगेको गैंडाक्याम्प रिसोर्टका प्रोपराईटर रामजी थापा वताउँछन् । ठूलो टीम नआएपनि पर्यापर्यटन खुकुलो भएपछि स्वदेशी पर्यटकको आवागमनले नुनतेल चलाउन सजिलो भएको छ । उनले भने पर्यटकहरु बन्यजन्तु लगायत स्थानिय थारु कला, संस्कृति र परिकारमा रमाउने गर्छन् ।

तपाइको मत