विद्युतिय क्षतीको क्षतीपूर्ति मागगर्दै राजापुर विद्युतमा ज्ञापन पत्र
- बुधबार श्रावण २० , २०७८
मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नं. २ जोतपुरमा विद्युतका कारण सिर्जित क्षतिको बिभिन्न संघसंस्थाले क्षतिपूर्ति माग गरेका छन् । जोतपुर बरघरको नेतृत्वमा ३ लाख ४० हजार ६ सय १५ रुपैया बराबरको क्षतिपूर्ति माग गरिएको छ ।
क्षतिपूर्ति सहितको ज्ञापन पत्रमा जोतपुर गाउँको ११७ घरमा क्षति पुर्याएको तथ्याङ्कमा उल्लेख छ । विद्युत प्राधिकरण वितरण शाखा राजापुरका कार्यालय प्रमुख शशिकान्त तिवारीलाई जंग्रार साहित्यिक बखेरीका अध्यक्ष एवं युनिक नेपालका कार्यक्रम संयोजक सोम डेमनडौराले ज्ञापन पत्र बुझाउनु भएको छ ।
जोतपुर बरघर समितिले क्षतिको अवस्थाका बारेमा लिएको तथ्याङ्कको आधारमा क्षतिपूर्ति सम्बोधन गर्नुपर्ने,. समय समयमा विद्युतका कारण हुने क्षति रोक्न तत्काल विद्युतीय व्यवस्थापन, विद्युतीय प्रवाह तथा विद्युतीको ट्रान्सफार्म समय समयमा अनुगमन तथा मर्मत हुनुपर्ने, बिजुलीको मुख्यतारको लाइन चुडिएको बेला जोड्ने बेला विद्युतका कर्मचारीले हरेक घरधुरीबाट ५० रुपैयाका दरले उठाउने कार्य रोक्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
विद्युत कार्यालयले कर्मचारीहरुको गतिविधिको अनुगमन गर्नुका साथै हरेक गाउँमा तथा कार्यालयमा गुनासो संयन्त्रको व्यवस्था, पोलबाट घरमा मिटर जडान गर्दा या तार चुडिएको अवस्थामा विद्युत प्राधिकरणका कर्मचारीले लिने गरेको ५०० रुपैयाको विद्युतले बिल भपाई दिनु पर्ने वा या लिन बन्द गर्नुपर्ने माग राखिएको छ ।
ज्ञापन पत्र बुझ्दै विद्युत प्राधिकरण वितरण केन्द्र, राजापुरका कार्यालय प्रमुख तिवारीले जोतपुरमा प्राविधिक समस्याले नोक्सानी भएको तर आफुले क्षतिपूर्तिका लागि केन्द्रसँग पहल गर्ने बताउनु भयो । कर्मचारीले विद्युतको मिटर जडानका बेला ५०० र मुख्य तार जोड्ने बेलामा प्रत्येक घरधुरीबाट ५० रुपैया लिएको भन्ने कुरा आफुलाई थाहा नभएको बताउनु भयो । शाखा प्रमुख तिवारीले कुनै पनि कर्मचारीले आचारसंहिता विपरितका काम गरे वा कुनै अनियमितता भए गरेमा आफुलाई तुरुन्त जानकारी गर्न आग्रह गर्नु भयो ।
क्षतिपूर्ति माग सम्बन्धि ज्ञापन पत्र बुझाउने टोलीमा राजापुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष महेश चौधरी, बर्दियाली थारु विकास मञ्चका अध्यक्ष तथा थरुहट थारुवान युवा शक्तिका केन्द्रिय संयोजक सिताराम थारु, ग्रामिण युवा विकास समाजका अध्यक्ष बिमल चौधरी, सुम्मत कृषि सहकारी संस्था लि.का अध्यक्ष रघुराम थारु, युनिक स्पोर्ट्स् क्लबका गोपाल थारु लगायतको सहभागीता रहेको थियो ।