fbpx

बाढीको त्रासले रातभर जाग्राम

बाढीको त्रासले रातभर जाग्राम

यादव आचार्य, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ५ बालापुर गाउँका वडघर तिहार बहादुर चौधरी रातभर जाग्राम बस्छन् । बबई नदीको नजिकै रहेको बस्तीमा बर्षादको बेला कतिवेला बाढी आउछ भन्ने उनलाई सधै पिरलो छ । पानी परेको दिन त बस्तीका सबै वासिन्दा जाग्राम हुन्छन् ।

पटक पटक बाढीको चेपेटामापर्दै आएको सदरमुकाममा अवस्थित बालापुर वस्तीका स्थानियहरु तिन महिना समस्यामा पर्छन् । असार, साउन र भदौ महिना हाम्रो लागि अभिषाप भएर आउँछ वडघर तिहार बहादुरले दुःखेसो पोखे । बाढी आउने महिनामा हामीहरु रातभरी निदाउँदैनौ । कतिवेला बाढी आउँछ । अनि सिंगो घर परिवार तहस नहस पार्छ भन्ने हामीलाई सधैं त्रास रहन्छ । पटक पटक राती उठेर नदी हेर्न पुग्छौं । नदी बढेको अवस्थामा गाउँलेलाई खबर गर्छौ ।

उनले भने वस्तीमा बाढी पस्यो भने गाउँनै ६ फुट डुब्छ । पशुचौपायाहरुको विजोग हुन्छ । हामी त सेल्टर हाउसमा बसौला पशुहरुलाई कहाँ लैजाने चौपायाको समेत विजोग हन्ुछ । हामीलाई धेरै धनजनको क्षती ब्यहोर्नु पर्छ । नदीमा तटबन्धको काम त कता कता भैरहेछ । हाम्रो गाउँको नजिकै करिव १÷२ किलोमिटर क्षेत्रमा कुनैपनि तटबन्धन भएको छैन । खोई हाम्रो यता किन तटबन्ध भएन उनले अनभिज्ञता प्रकटगर्दै थपे हामीलाई पनि राज्यले सुरक्षा दिनु पर्ने हो किन लापरवाही गर्यो होला ।

तत्कालिन सिंचाई मन्त्री संजयकुमार गौतमले बबई, भादा, औरहीनदी नियन्त्रण आयोजनाको कार्यालय बर्दियामा स्थापना गरी नदी नियन्त्रण कार्य शुचारु गरेपछि गुलरियावासी हौसिएका थिए । गौतमको कार्यकालपछि यतिका बर्ष वितिसक्दा पनि नदी नियन्त्रणको काम नसकिंएपछि स्थानियहरु निरुत्साहित बनेका छन् । बबई, भादा, औरहीनदी नियन्त्रणको काम कछुवाको गतिमा भएको प्रति स्थानियहरु चिन्तित छन् । आयोजनाको काम समयमै सम्पन्न नहुँदा स्थानियहरु बबईको बाढीबाट त्रासमुक्त हुन सकेका छैनन् ।

हामीलाई बाढीको डरले अझै छोडेको छैन । बालापुर निवासी खुशीराम थारुले भने बबईको सबैतिर ड्याम सहितको तटबन्ध निर्माण हुँदैछ । तर हाम्रो बालापुरको क्षेत्रमा निर्माणको काम शुरु हुने तरखर नै छैन । बाढीका कारण स्थानियको तरकारी खेती, माछा पालन, पशुचौपाया लगायत अन्नपातहरु नष्ट भएर जान्छ । त्यसको क्षती कसले ब्यहोर्ने उनले प्रश्न गरे । जसरी हुन्छ हाम्रो बालापुर गाउँ सुरक्षित गर्दिनु पर्यो । ०७१ र ०७४ को बबई नदीमा आएको बाढीले बालापुरवस्ती धेरै प्रभावित भयो । फेरी पनि नहोला भन्न सकिन्न ।

गुलरिया नगरपालिका र वडाको बजेटले नदि नियन्त्रणमा कुनै उपलब्धी देखिदैन । तरपनि नगरपालिकासँगको सहकार्यमा बालापुरमा सेल्टर हाउस निर्माण भएको गुलरिया नगरपालिका वडा नम्वर ५ का वडा सदस्य युवराज श्रेष्ठले बताए । वडाले समुदायमा बाढीको सचेतना दिने गरेका छौं । बाढीले निर्माण गरिएका सडक समेत बगाउने गर्छ । बालापुरमा बबई नदीको बाढी आए धनजनको ठूलो क्षती हुन्छ । नदी तटीय बस्ती भएकाले पनि बालापुर गाउँ बाढीको जोखिममा छ । गाउँ नजिकै नदी नियन्त्रण आयोजनाको ड्याम सहितको तटबन्ध निर्माण नभएकाले हामी चिन्तित छौं गाउँले त्रासमा छन् श्रेष्ठले भने ।

तपाइको मत