बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुल जोखिममा
- बिहिबार श्रावण १४ , २०७८
मुरली गोडिया, बर्दिया । बर्दियाबाट कैलालीहुँदै पुर्व पश्चिम राजमार्ग जोडने सत्तीघाट (कर्णाली) पुल जोखिममा परेको छ । कर्णाली नदीमा पानीको बहाव बढेसँगै पुलको २ वटा स्पान धाँसिएको हो ।
पुलको २ वटा स्पान भासिएपछि पुल बाङ्गो समेत भएको छ । ५ सय ३१ मिटर लम्बाईको पुलको पूर्व तर्फको स्पान्सन जोएन्ट करिव १० सेन्टिमिटर भासिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख गागल भण्डारीले बताए । निर्माण सम्पन्न भएबाट नै पुलमा स्पानको कमीका कारण यस्तो समस्या आएको स्थानीयको भनाई छ ।

पुलका बिषयमा शुरुबाट नै सरोकारवाला निकायलाई ध्यानकार्षण गराउदा समेत सरकारले समयमा चाँसो नदिंदा पुल नदीले भत्काउने होकि भनेर स्थानीय चिन्तीत वनेका छन् । केन्द्रदेखी प्रदेश सम्मका मन्त्री सांसद जो आएनि स्पान थप्ने भनि झुँटा आश्वासन मात्र दिएर जाने गरेको बर्दिया उद्योग बाणिज्य संघ, राजापुरका अध्यक्ष कृष्ण कुमार रेग्मीले बताए । स्थानिय नागरिकहरुसंग कुनै सल्लाह नै नलिई कार्य गर्नुको परिणाम भएको उनको भनाई छ ।
पुल निर्माणकै क्रममा पुलको लम्बाइ बढाउनु पर्ने अवाज उठेको भएता पनि सरकारले तत्काल चाँसो नदेखाएकै कारण समस्या थपिँदै गएको हो । स्पान थप्ने विषयमा यसै आर्थिक वर्षमा स्पान थप्नलाई ठेक्का अह्वान गरिने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख गागल भण्डारीले बताए । सत्तिघाट पुलमा प्राविधिक टोलीले अहिले सर्वे गरिरहेको छ । करिब ४५ करोडको लागतमा २०७२ सालमा रसुवा जेभिले यो पुल निर्माण गरेको थियो ।
५ सय ३१ मिटर लम्वाईको पुल जोखिममा भएपछि स्थानीयवासी चिन्तित बनेका छन । बर्दियाको समृतिसंग समेत जोडिएको सत्तिघाट पुलको दिर्घकालिन रुपमा समस्या समाधानका लागि पिलर थपेर निर्माण गर्न स्थानियको माग छ । सत्तीघाट पुलको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको नेतृत्वमा अनुगमन गरिएको छ ।