बबईनदी स्थित जब्दीघाटको पुल निर्माणमा आलटाल
- आइतबार श्रावण १० , २०७८
यादव आचार्य, बर्दिया । चारबर्ष अघि साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले भाँचिएको बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल जस्ताको तस्तै छ । पप्पु कन्ट्रक्सन कम्पनिले निर्माण गरेको पुल निर्माणाधिन कालदेखि नै विवादमा रहेकाले हस्तान्तरण नहुँदै क्षती ब्यहोर्नु परेको थियो ।
बाढीले ४ सय ३५ मिटर लामो पक्कीपुलमा क्षती पुर्याएपछि राजमार्ग जोड्ने सडकखण्ड अलपत्र परेको छ । १६ करोड ६८ लाख ४ हजार रुपैयाको लागतमा निर्मित पक्की पुलको विवाद अख्तियार सम्म पुग्यो । निर्माण कम्पनी लगायत अनियमिततामा संलग्न सरकारी कर्मचारीहरुलाई विगोसहित जरिवाना तोक्दै अख्तियारले विवाद त अन्त्य गर्यो तर पुल निर्माण तर्फ कसैले चालचुल गरेका छैनन् । पुल निर्माणका लागि हामीले धेरै पटक अनुरोध विन्ती लगायतका सबै हतकण्डा अपनायौं तर पुल पुर्ननिर्माण हुन सकेन बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारुले भने ।
हामीले सम्वन्धित निकायहरुमा भन्दा भन्दा थाकिसक्यौं हामीहरुको कुनै सुनुवाई भएन । पुलका कारण बारबर्दिया नगरपालिका डुवानको खतरामा छ । बर्षा नजिकिंदै छ । पुल निर्माणको काम तत्काल गर्नुपर्ने हो । पुल निर्माणको बेला भएका कमजोरी, भ्रष्टाचारको छानविन पनि हुँदै गरोस् पुल निर्माण पनि सँगसँगै होओस् भन्ने हाम्रो चाहाना हो तर त्यसो हुन सकेन । जसले गर्दा बारबर्दिया नगरबासी बाढीको जोखिमबाट उम्किन सकेनन् । जसरी भएपनि समस्या समाधान गर्नुपर्ने प्रमुख थारुको माग छ ।
जब्दीघाटको पुल भाँचिएपछि सवारी साधन संचालनमा कठिनाई ब्यहोर्नु परेको छ । पुलका कारणले साना ठूला सवारी साधन, एम्वुलेन्स लगायत स्कूलका सवारी पनि गुड्न पाएका छैनन् । जति सक्दो चाँडो पुल पुर्ननिर्माण गर्नुपर्ने हो तर बेवास्ता गरियो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षतीग्रस्त पूर्वाधार प्रति राज्यले गरेको उपेक्षाले जनताहरु निरुत्साहित हुँदै गएको स्थानिय बताउँछन् ।
अख्तियारको अनुसन्धान :
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दीघाट पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयोग भएको, पुल बनाउँदा बाँगो देखिएको र उद्घाटन नहुँदै भत्किएको भन्ने उजुरी अख्तियारमा परेपछि आयोगले छानविन शुरु गरेको थियो । निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीबाट लाइन लेभल तथा पियर हाइट कायम गर्दा गम्भीर लापरवाही र अनियमितता भएको अख्तियारको दावी छ ।
पुल अनुसन्धानका क्रममा निर्माण कम्पनी लगायत कर्मचारीबाट अनियमितता भएको रहस्य बाहिरिएको थियो । अख्तियारले गरेको अनुसन्धानबाट अनियमिततालाई गुपचुप राखिएको र फिल्डको नापजाँच हचुवामा गरिएको, स्पेसिफिकेसन्सको क्लज ११२ वमोजिम नभएको पाईयो । स्पेसिफिकेसन्सकै क्लज १०४ बकोजिम निर्माण ब्यवसायीबाट क्वालिटी एसुरेन्स प्लान (क्यूएपी) पेश गर्न लगाइएको, निर्माण सामाग्रीको गुणस्तर प्रभावकारी नभए पनि स्वीकृत गरिएको र गुणस्तर प्रमाणित नगरी डिभिजन कार्यालयले भुक्तानी गरी अनियमितता गरेको पाईएको अख्तियारको निष्कर्ष छ ।
शुरुमा बाढीबाट क्षती भएको पक्कीपुल कसले पुर्ननिर्माण गर्ने भन्ने सम्बन्धमा सरकार र पुल निर्माण कम्पनी विच चर्को विवाद भएपछि मुद्दा अख्तियार सम्म पुग्यो । सरकारले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अन्तिम निष्कर्ष नआएसम्म पुलको बारेमा जबाफ दिन सकेन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका संचालक र तिनलाई सघाउने सरकारी अधिकारीहरु उपर ९० करोड रुपैयाको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरीसकेको छ ।