रोकिएन बाघको आक्रमण : एकबर्षमा १३ जनाको मृत्यु
- आइतबार श्रावण ३ , २०७८
विष्णु अधिकारी, गुलरिया । पाटे बाघको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाले प्राण त्यागे । शनिबार भैंसी चराउन सामुदायिक वन गएका उनी साँझ घर फर्किएनन् ।
थापा घर नफर्किएपछि परिवारको अनुरोधमा निकुञ्जको टोलीले उनको खोजी गरेको थियो । हात्तीको सहायताबाट खोजी गर्ने क्रममा कालीगोडी बफरजोन सामुदायिक वनमा गोरे मृत अवस्थामा भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिमकुमार थापाले जानकारी दिएका छन् ।
बर्दियामा पटक पटक बाघले आक्रमण गर्ने क्रम रोकिएको छैन । यसअघि गत असार २१ गते मधुवन नगरपालिका–३ का ६७ वर्षीय चित्रबहादुर केसीको पनि बाघको आक्रमणमा परी मृत्यु भएको थियो । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको ज्यान गैसकेको निकुञ्जले जनाएको छ ।
मानव र वन्यजन्तुबीचको बढ्दो द्वन्द्व न्यूनीकरणका लागि विभिन्न प्रयास थालेपछि द्वन्द्व नरोकिँदा सर्वत्र चिन्ता बढ्न थालेको छ । स्थानीयहरु सामुदायिक वनमा पशु चौपाया चराउन, निउरोको साग तथा च्याउ खोज्न जाने क्रममा आक्रमणमा पर्ने गरेको पाईन्छ । स्थानीयहरुलाई जंगल प्रवेश नगर्न निकुञ्जले पटक–पटक आग्रहगर्दै आईरहेको छ ।