fbpx

स्थानीय विषयबस्तु समेटेर बारबर्दिया नगरपालिकामा पाठ्यक्रम

स्थानीय विषयबस्तु समेटेर बारबर्दिया नगरपालिकामा पाठ्यक्रम

विष्णु अधिकारी, बर्दिया । बारबर्दिया नगरपालिकाले स्थानीय विषय समेटेर पाठ्यक्रम निर्माण गरि सार्वजनिक गरेको छ । नगरपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई आफ्नो पालिकामा भएको पुरातात्विक विषयको जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार गरेको हो ।

पाठ्यक्रममा ८ विषयसूची निर्माण गरेर अध्यापन गराईने बारबर्दिया नगरपालिका शिक्षा शाखाले जनाएको छ । यस पाठ्यक्रम निर्माण गर्नुको मुख्य उद्देश्य स्थानीय विषयबस्तु र आवश्यकता पहिचान गरी स्थानीय सहभागिता र विज्ञताको संलग्नतामा पाठ्यक्रम विकास गर्ने नगर शिक्षा प्रमुख टिकानाथ गोसाईले जानकारी दिए । शिक्षा प्रमुख गोसाईले विद्यार्थीहरुलाई स्थानीय ज्ञान, सिपका बारेमा जानकारी दिई श्रमको सम्मान गर्ने भावनाको विकासको साथै स्थानीय पेशा, व्यवसाय, प्रविधि, मुल्यमान्यताका साथै वातावरण संरक्षण तथा प्रवद्र्धन गर्ने रहेको बताए ।

स्थानीय विषयको पाठ्यक्रम विमोचनका प्रमुख अतिथि बारबर्दिया नगरपालिका प्रमुख दुर्गा बहादुर थारु (कविर) ले पाठ्यक्रम कार्यान्वयनले विविध पक्षका बारेमा विद्यार्थीहरुलाई जानकारी दिई उनीहरुमा ज्ञान, सिप, अभिवृत्ति गराई कार्य गर्नसक्ने तत्परताको विकास गर्ने लक्ष्य लिईएको बताए । उनले भने बालबालिकाले पाठ्यबस्तुमा समेटिएका विषय बस्तु अध्ययन गरेर आफ्नो नगरपालिका प्रतिको माया जागृत भई यस क्षेत्रको विविध पक्षको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

पाठ्यक्रममा बारबर्दियाको परिचय, नक्साङ्कन र इतिहास, नगरपालिकाको गठन, सेवा प्रवाहका विषय बस्तु समेटिनुका साथै नगरभित्रको रितिरिवाज, संस्कार र संस्कृती, स्थानीय धार्मिक एवं पर्यटक स्थलहरुका बारेमा जानकारी दिने उद्देश्य रहेको नगरपालिकाले जनाएको छ । पाठ्यक्रममा सिक्ने पद्धतीमा आधारित भई सिकाई सहजीकरण गर्ने र अध्यापनका विभिन्न माध्यमहरु प्रयोग गरेर विद्यालय तथा समुदायमा प्रयोग गर्ने खालका क्रियाकलापहरु पाठ्यक्रममा समेटिएका छन् ।

बारबर्दिया गौरव नामक पाठ्यपुस्तक लोकार्पण कार्यक्रममा बारबर्दियाका सम्पुर्ण विद्यालयका प्रध्यापक, स्थानीय बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

तपाइको मत