अनुदानले फेरियो बर्दियाका किसानको दैनिकी
- आइतबार असार २७ , २०७८
विष्णु अधिकारी, बर्दिया । एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाद्वारा अनुदानमा संचालित कार्यक्रमको संयुक्त अनुगमन भएको छ । एकिकृत कार्यालयले आर्थिक बर्ष ०७७÷०७८ मा संचालन भएका कार्यक्रमकोे स्थलगत अनुगमन गरेको हो ।
कार्यालयले गुलरिया नगरपालिका वडा नं. १ मा वायोग्यास सहित भकारो सुधार अनुदान कार्यक्रममा १९ लाख ६० हजार रुपैया लगानी गरेको छ । जसले गर्दा कार्यक्रमबाट लाभान्वित २५ घरधुरीले गुइठा व्यवस्थापन, भकारो सुधार, स्वस्थ पशु सफा दुध उत्पादन गरी पशुको गोबरबाट गोबर ग्यास उत्पादन गरी प्रयोगमा ल्याईरहेको वायोग्यास सहित भकारो सुधार कार्यक्रमका अध्यक्ष गोविन्द प्रसाद यादवले बताए । यादवले कार्यक्रमबाट अव्यवस्थित रुपमा पशुपालन गरिरहेको तर अहिले कार्यालयबाट अनुदान रकम पाएपछि आफुहरु पशुपालनबाट आर्थिक उपार्जन गर्न सक्ने आत्मबल बढेको बताए ।
स्मार्ट कृषि गाउँ कार्यक्रम ठाकुरबाबा नगरपालिका वडा नं. ५ शाहिपुरमा ५० घरधुरीका महिला तथा पुरुषहरु सहभागि भई व्यवस्थित रुपमा बाख्रा पालन गरिरहेका छन् । अनुदान कार्यक्रमले शुद्ध नश्लको पाठापाठी उत्पादन गरि सहज रुपमा बोका तथा बाख्राको उपलब्धतामा वृद्धि गराई खसि बोकाको मासु उत्पादनमा आत्म निर्भर बनाउने लक्ष्य रहेको पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख बिनोद घिमिरेले बताए । प्रमुख घिमिरेले कृषिमा वातावरणीय जोखिम कमगर्दै खाद्य पोषण सुरक्षाको सुनिश्तता सहित महिला तथा युवा उद्यमशिलताको विकास गरि आत्म निर्भर बनाउने उद्देश्य रहेको बताएका छन् ।
कार्यालयद्वारा ठाकुरबाबा नगरपालिका वडा नं. १ मा रैथानेबालीहरुको बजार प्रवद्र्धनका लागि ठाकुरबाबा बहुउद्देश्यीय सहकारी संस्था लि. मार्फत थारु आलु, धान बजारीकरण र रैथाने विक्री केन्द्र संचालन गरेको छ । जसका लागि कार्यालयले ३ लाख र अनुग्राहीले ३ लाख ४ हजार व्यहोर्ने गरि कार्यक्रम संचालन भएको रैथानेबाली बजार प्रबर्धनका पूर्ण प्रसाद अर्यालले जानकारी दिएका थिए । पशुपन्छी कार्याल बर्दियाले बारबर्दिया तथा बाँसगढी नगरपालिकाका विभिन्न वडाहरुका बंगुर पालनका लागि कृषकहरुलाई अनुदान रकम उपलब्ध गराएको छ ।
उन्नतजातका बंगुरहरु पालन गरि पाठापाठी उत्पादनगर्दै विक्री वितरण गरिरहेको वंगुर कृषक मिना कुमारी बोहोराले बताइन् ।
बंगुरबाट उत्पादित पाठापाठी माग अनुसार पुरा गर्न सकिएको छैन । बंगुरपालनका लागि चाहिने नयाँ गोठ थप्न लागेको र बंगुर पालनबाट आत्म सन्तुष्टि मिलेको कुरामा उनले जोड दिईन् । अनुगमन कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नं.५ जगतियामा अवस्थित वेचन मत्स्य फार्ममा कार्यालयले मत्स्य विज हाचरी निर्माण तथा सुधारका लागि ५ लाख अनुदान रकम उपलब्ध गराएपछि वेचन थारुले मत्स्य विज हाचरी निर्माण गरि विभिन्न जातका माछाका भुराहरु उत्पादन तथा विक्रि वितरण गर्ने कामका लागि पक्की पोखरी निर्माण गरिसकेको बताए ।
माछाको उत्पादन सुरु हुने तयारीमा रहेको प्रमुख घिमिरेले प्रष्ट्याए । कार्यक्रमबाट अनुदान रकम प्राप्त भैसकेपछि मत्स्य पालनका प्रोप्राइटर बेचन थारुले २०६० साल देखि आफु मत्स्य पालनमा लागिरहेको तर भुरा उत्पादन गर्न आफुलाई प्राविधिक ज्ञान तथा आर्थिक अभावका कारण नसकिरहेको अवस्थामा सरकारले रकम उपलब्ध गराएपछि आफु माछा पालन तर्फ थप उत्साहित भएको बताएका छन् ।