बन क्षेत्रको अतिक्रमण हटाउँदै बृक्षारोपण
- आइतबार असार २७ , २०७८
दुर्गा आचार्य, बर्दिया । डिभिजन बन कार्यालय बर्दियाले बन क्षेत्रको अतिक्रमण हटाउने अभियान शुरु गरेको छ । जिल्लाका विभिन्न सामुदायिक वनका अतिक्रमण हटाउँदै बृक्षारोपण कार्यलाई अघि बढाएको छ ।
बढैयाताल गाउँपालिका–१ शान्तिपुरमा अतिक्रमण भएको ५ दशमलव २२ हेक्टर जग्गा फिर्ता गरी ठूलो परिणाममा बृक्षारोपण गरेको डिभिजन बन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाध्लेले बताए । अतिक्रमण हटाईएपछि अतिक्रमित जमीन सुरक्षित भई वन क्षेत्र थप विस्तार भएको छ ।
डिभिजन वन कार्यालय बर्दियाले आर्थिक वर्ष ०७७÷७८ मा गरेको वार्षिक कार्यक्रमको अनुगमन गरेको छ । जिल्ला स्थित अनुगमन टोलीले बन कार्यालयले गरेको विभिन्न कार्यहरुको अनुगमन गरेको हो । कार्यालयले चालु आवमा ४ करोड ६० हजार रुपैया बरावरको जैविकविविधता, मानव वन्यजन्तु द्वन्द न्युनीकरणमा काम गरेको छ ।
लघु उद्यम प्रबर्धन सहयोग अन्तरगत बढैयाताल गाउँपालिका–६ स्थित मानव अधिकारका लागि एकल महिला विकास केन्द्रलाई वन कार्यालयले दुना टपरी बनाउने मेसिन समेत हस्तान्तरण गरेको छ । मेसिन मार्फत समुदायले वनजंगलमा खेर गईरहेका सालका पातको उपयोग गरी आर्थिक लाभ लिन सक्ने भएका छन् । पछिल्लो समय बर्दियामा मानव वन्यजन्तु द्वन्द चुनौतीको रुपमा थपएिको डिभिजन बन कार्यालय बर्दियाका प्रमुख वाध्लेले बताए ।
मधुवन, गेरुवा, निकुञ्जको कोर क्षेत्रमा बाघले यस बर्ष दर्जन भन्दा बढी मानीसको ज्यान समेत लिएको छ । यस्को न्युनिकरणका लागि मधुवन नगरपालिका–३ भगरैया स्थित सम्झना र दलित महिला सामुदायिक वनको २ दशमलव २ कि.मी क्षेत्रमा मेस वायर विथ ईलेक्ट्रिक फेन्स निर्माण गरेको छ । जस्का कारण वन्यजन्तु वस्ती छेउछाँउका वनमा सहज रुपमा प्रवेश गर्न पाउने छैनन् ।
वनकै सहयोगमा मधुवन नगरपालिका १ मा जडिबुटी खेती भण्डारणका लागि भण्डार घर निर्माण गरिएको छ । मधुवन नगरपालिका २ मा रहेको असारे सामुदायीक वनमा मिचाहा प्रजाती व्यवस्थापन तथा वन्यजन्तु वासस्थान व्यवस्थापनका लागि जनावरलाई पानी पिउने पोखरी निर्माण गरिएको छ ।