fbpx

सिक्कलसेल एनिमिया रोगले थारु समुदायमा निम्त्याएको पिडा

सिक्कलसेल एनिमिया रोगले थारु समुदायमा निम्त्याएको पिडा


अनोज थारु, बाँसगढी । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्वरं २ जोगी गाँउकी यमकुमारी चौधरी विगत १७ वर्ष देखि मानसिक समस्यामापर्दै आउनु भएको छ । बि.सं.२०५५ सालमा बिवाह बन्धनमा बाँधिएको ३ वर्ष सम्म उहाँको पारिवारीक जिवन सुखमय रह्यो । जव पहिलो सन्तानको रुपमा छोरी निष्ठाको जन्म भयो तव यमकुमारी र उहाँको श्रीमान निकै खुसी भए । समय बित्दै गयो जव छोरी १ वर्ष कि भइन् अनि यमकुमारीको जिवनमा दुःखका दिनहरु सुरु भए ।

सुरुमा बच्चाको हातखुट्टा सुन्नीने, ज्वरो आउने गर्न थाल्यो । रातदिन बच्चा चिच्याई चिच्याई रोएपछि यमकुमारी छोरीलाई लिएर कैयौँ रातहरु नसुतेरै यताउती हिड्ने गरेको बताउनु भयो । सानो बच्चा त्यसरी रुदा कुनचैँ आमा राम्रोसंग निदाउन सक्छ र ? त्यसमाथि धेरै परिवार भएको घर, रातभरी बच्चा सम्हाल्ने र दिनभरी घरको काम गर्नु पर्ने पिडा सुनाउनु हुन्छ । रातभरी छोरी नसुतेपछि टुकी बाल्दा घरपरिवारका सदस्यहरुले गुनासो गरेको उहाँको भनाई छ ।

पछि बच्चालाई यताउती देखाउदा बाल क्षयरोग भएको पुष्टी भयो । औषधी उपचार गराए पछि बच्चालाई निको त भयो तर बेलाबेलामा हातखुट्टा सुन्नीने, टाउको दुख्ने, शरीर बटार्ने लक्षण समय समयमा देखा रह्यो । जव छोरी ७ बर्षकी भइन् त्यतिखेर यमकुमारीको दोश्रो सन्तानको रुपमा छोराको पनि जन्म भैसकेको थियो । त्यसपछि छोरीको पुनः पुरानै रोग देखा प¥यो । यमकुमारी अर्को बच्चालाई काखी च्यापेर पनि छोरीलाई ७।८ पटक भारतको लखनउमा उपचार गराएको सुनाउनु हुन्छ । त्यतिखेर हप्ता दिनमा ४।५ पटक रातबिरात भए पनि छोरीलाई अस्पताल पु¥याउनु पर्दाको पिडा उहाँको ताजै छ ।

धेरै औषधी उपचार गर्दा पनि केही बिसेक नभएपछि यमकुमारीले छोरीलाई काठमाण्डौ बि.एण्ड बि.अस्पतालमा चेकजाँच गराउन पुर्याउनु भयो । त्यसपछि छोरीलाई रगत जाँच गर्दा बल्ल सिक्कलसेल एनिमिया भएको थाहा भयो । जव ७ बर्षको छोरीलाई सिक्कलसेल भएको थाहा भयो तव यमकुमारी छोरीको मुख हेर्दै १ हप्ता सम्म केही पनि नखाई रातदिन छोरीसंगै रोएको पिडा सुनाउनु हुन्छ । जुनवेलामा सिक्कल सेल रोग नयाँ थियो । धेरै चर्चामा आएको थिएन अनि यमकुमारीलाई छोरीको रोग बारे विश्वास पनि लागेन ।

यमकुमारीले फेरी छोरीलाई लिएर लखनौरमा चेकजाँच गराउनु भयो । त्यहाँ पनि छोरीको सिक्कलसेल पुष्टी भएपछि बल्ल विश्वास गर्नु भयो । त्यसपछि छोरीलाई लिएर नेपालगंन्ज भेरी अस्पतालबाट सिक्कल सेल रोग संम्बन्धी औषधी उपचार अहिले गराई रहनु भएको छ । नेपाल सरकारले सिक्कलसेल रोगका बिरामीहरुको लागि १ लाख बराबरको उपचार सहयोग गरेको छ । तर त्यतिले नपुग्ने उहाँ बताउनु हुन्छ । यमकुमारीले ८ लाखको जग्गा बेचेर यताउती सरसापट र विभिन्न संघ संस्थाबाट ऋण लिएर उपचार गराईरहेको छ । अहिले सम्म छोरीको उपचारमा मात्रै करीव ३० लाख जति खर्च भैसकेको यमकुमारीको भनाई छ ।

यमकुमारीको छोरी अहिले २० वर्ष कि भइन् । उनलाई सिक्कलसेल पुष्टी भएको १३ बर्ष भयो तर लक्षण देखा परेको भने अहिले १९ वर्ष भयो । उनी अहिले नेपालगंन्जमा सि.एम.ए. पढीरहेकी छिन् । उनलाई सिक्कलसेल कै कारण महिनामा ३।४ पटक अझै पनि आई सि.यु. मा भर्ना गर्नुपर्ने आमा बताउनु हुन्छ । छोरी जब सानो थिइन त्यतिबेला उनलाई आमाले पिठ्युमा बाँधेर यताउति औषधी उपचार गराउने गर्नु हुन्थ्यो । यमकुमारीको श्रीमान् विद्यालयलमा कार्यालय सहयोगी पदमा जागीरे भएकोले छोरीलाई औषधी उपचार गर्न लामो समय सम्म बिदा नपाएपछि छोरीको हेरचाह आमा यमकुमारीले नै गर्नु हुन्थ्यो । जव छोरी ठूली हुदै गईन तव उनलाई पिठ्युमा बोक्न अप्ठ्यारो भयो । अनि यमकुमारी श्रीमान्को साहारा खोज्नु हुन्थ्यो ।

तर श्रीमान् विद्यालयमा जागिर भएकोले समय दिन नसकेपछि अन्य छरछिमेक संग यमकुमारीले साहारा माग्दै छोरीको उपचार गराउन थाल्नु भयो । यमकुमारी छोरीको हेरचाह गर्दागर्दै आफ्नै श्रीमान्बाट नराम्रो आरोप खेपेर अलगिनु परेको बताउनु हुन्छ । छोरीलाई अस्पतालसम्म पु¥याउन श्रीमान्को समय नमिल्ने र छरछिमेकीको साहारा लिदा अर्केसंग लागेको भन्दै श्रीमान्ले आरोप लगाएर आफ्नै श्रीमती र छोराछोरीसंग बोलचाल गर्न र रुपैँया पैसा दिन छोडे । यमकुमारीका श्रीमान् २ वर्ष सम्म छोराछोरी र श्रीमतीलाई वास्ता नगरेपछि यमकुमारी भरखर ४ महिना अगाडी श्रीमानसंग संम्बन्ध बिच्छेद गरेर आफ्नो एक छोरा र एक छोरीलाई लिएर एक्लै बस्नु भएको छ ।

यमकुमारीसंग सम्पत्तीको नाममा श्रीमानबाट पाएको अहिले १० धुर जग्गा छ । त्यसमध्ये छोरीलाई जिवनभर औषधी खानु पर्ने रोग लागेको छ । यमकुमारीलाई यतिबेला छोराछोरीको पढाई लेखाई, छोरीको औषधी उपचार र घरव्यवहार चलाउन निकै कठिन भएको छ । यही समस्याले मानसिक रुपमा निकै पिडा भोग्नु परेको बताउनु हुन्छ यमकुमारी । छोराछोरी र परिवारको समस्याले कहिले काँही आत्महत्या गर्ने योजना समेत बनाउने गरेको बताउनु हुन्छ यमकुमारी तर फेरी छोरा छोरीको मुख हेरेर बस्ने बसेकी छु उहाँले भन्नुभयो ।

त्यस्तै, बारबर्दिया नगरपालिका वडा नं ३ बेलवा बज्जाकी राजकुमारी चौधरीलाई पनि सिक्कलसेल एनिमिया भएको ७ बर्ष भयो । यो रोगले गर्दा कुन बेला गाह्रो हुन्छ र तत्काल अस्पताल पुग्नुपर्छ थाहा हुन्न । त्यसैले एक्लै कतै पनि जान मिल्दैन । यस्तो समस्या परिवारका अन्य सदस्यलाई पनि छ । बाहिरी सिक्कल सेल भएका राजकुमारी, उनको दुई दिदि र एउटा दाइमा बाहिरी सिक्कल सेल एनिमिया देखा परेको छ भने राजकुमारीकी आमा र दाईको एउटा छोरा र एउटी छोरीलाई भित्रि सिक्कल सेल एनिमिया रहेको छ । अहिले २० बर्ष पुगेकी राजकुमारीको बिहेमा पनि समस्या भएको छ सिक्कलसेलका कारण । घर परिवारका ७ जनामा सिक्कल सेल रोगभएको कारण राजकुमारीका बाबा सन्तु चौधरीले दुःखको सिमा नरहेको बताउनु भयो ।

घरमा जवान छोरा छोरीहरु कमाउने खाने उमेरमा छोरा छोरीहरुको स्याहार सुसार गर्नु परेको उहाँ दुखेसो पोख्नु हुन्छ । सन्तुको घर पुर्व पश्चिम राजमार्ग देखि करिव १५।२० किलोमिटर ग्राबिल र कच्ची बाटोमा पर्छ । जव स्वास्थ्यमा समस्या भयो भने तुरुन्तै लढिया (वयल गाढा) मा लिएर उपचार गर्न बजार सम्म पु¥याउने गरेको सन्तु चौधरीले बताउनु भयो । छोरा छोरीको यो अवस्था देखेर गाँउलेहरुले पनि कुरा काट्ने गरेको उहाँको गुनासो छ । सन्तुका तीनै वटा छोरीहरु बिवाह गर्ने उमेरका भैसकेका छन् । राजकुमारीले जिवनको बारेमा सोँचे जस्तै सन्तुले पनि जतिजति छोरीहरुको उमेर बढ्दै गएको छ सन्तु र उनका श्रीमति, छोरीहरुको बारेमा सोचेर तनावपुर्ण जिवन बिताइ रहेका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिकामा मात्रै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसार १ सय १५ जनामा सिक्कल सेल एनिमिया देखा परेको छ । त्यसमध्ये ५४ जना महिला रहेका छन् भने ६१ जना पुरुष रहेका छन् । त्यसैगरी ८ जनालाई थलेसिमिया रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको तथ्याङक अनुसार बाँसगढी नगरपालिकामा ७ जना, ठाकुरबाबा नगरपालिकामा ६ जना, गेरुवा गाँउपालिकामा ४ जना, राजापुर नगरपालिकामा १२ जना, मधुबन नगरपालिकामा ३ जना, गुलरीया नगरपालिकामा २ जना र बढैयाताल गाँउपालिकामा १ जना गरी बर्दिया जिल्लाभरीमा १ सय ५७ जना सिक्कल सेल एनिमियाका बिरामी रहेका छन् ।

त्यसैगरी बाँकेको भेरी अस्पतालको २०७६ साल फागुन सम्मको तथ्याङक अनुसार ५२३ जना बर्दियामा सिक्कलसेलका बिरामीहरु रहेका छन् । परिषदको तथ्याङक अनुसार धेरै जसो २० देखि ३० बर्ष उमेर समुहका युवाहरुमा सिक्कलसेल बढी देखापरेको छ । पछिल्लो अवस्थामा थारु समुदायमा सबै भन्दा बढी सिक्कलसेल रोग लाग्ने गरेको छ । सिक्कलसेल रोग धेरै जसो थारु समुदायमा देखा परेकै कारण थारु समुदायका धेरै मानिसहरु यो रोगबाट पिडित बनेका छन् । यही रोग र गरिवीका कारण थारु समुदायका मानिसहरु पछिल्लो अवस्थामा तनावमा आउने गरेका छन् । तनाव कै कारण बौलाउने, आत्महत्या समेत गरेका छन् ।

थारु समुदायका मानिसहरु गरीवी, बेरोजगारी र अशिक्षाको कारणले मानसिक समस्याको सिकार हुन थालेका छन् । बिगत ५।६ बर्ष देखि बिभिन्न संघ संस्थामा मनोसामाजिक बिमर्शकर्ताको रुपमा काम गर्दै आउनु भएकी सपना शर्मा, अहिले सम्म करिव ६।७ सय जनालाई काउनसेलिङ्ग गरीसक्नु भएको छ । उहाँ अहिले टिओपि नेपाल संस्थामा पनि मनोसामाजिक बिमर्शकर्ताको रुपमा नेपालगंन्ज बसेर काम गरीरहनु भएको छ । उहाँका अनुसार पछिल्लो अवस्थामा थारु र मधेसी समुदायका मानिसहरु बढी मानसिक तनावमा पर्ने गरेको मनोसामाजिक बिमर्शकर्ता सपना शर्माको भनाई रहेको छ ।

थारु र मधेसी समुदायका मानिसहरु बिशेष गरी गरीवी, बेरोजगार र अशिक्षित भएकोले पारिवारीक समस्याले गर्दा मानसिक तनावमा पर्ने गरेको उहाँको भनाई छ । यता जिल्ला प्रशासन कार्यालय बर्दियाको तथ्याङक अनुसार आर्थिक बर्ष २०७७।०७८ मा मात्रै ४७ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये पुरुष २५ जना र महिला २२ जना रहेका छन् । त्यसैगरी ४७ जना आत्महत्या गर्ने मध्ये थारु समुदायका १५ जना पुरुष र १४ जना महिला गरी जम्मा २९जना रहेका छन् । ‘

तर थारु समुदायका मानिसहरु, जति मानसिक तनावमा आएपनि औषधी उपचारतिर त्यति ध्यान नदिएको देखिन्छ । पुरानै पुर्खाहरुले देखाएको र चलाएको संस्कार, संस्कृति, धामि झाँक्री र बैद्य तिर ध्यान दिने गरेका छन् । बाँसगढी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष तथा बैद्य रजमान चौधरीले अझै पनि मानसिक रुपमा समस्या भएका ब्यक्तिहरु दिनमा २।३ जना आउने गरेको बताउनु भयो । बैद्यले मानसिक रुपमा समस्या भएका ब्यक्तिहरुलाई बिभिन्न खाले जडिबुटीका औषधीहरु दिने गरेको बताउनु भयो ।

जडिबुटीबाट पनि कतिपय बिरामीहरु सन्चो हुने गरेका छन् । बैद्यका अनुसार बिशेषगरी मानसिक समस्या भएका ब्यक्तिहरुको मनोबल बढाउन, आत्मबल बढाउन सकियो भने आँफै यो रोगबाट मुक्त हुने उहाँको भनाई छ । थारु समुदायमा मानसिक रोगबाट मुक्त गराउनको लागि पहिले पनि अभियानकै रुपमा नचलाए पनि आफूसंग जडिबुटी लिन आउनेहरुलाई जम्मा गरेर उनीहरुलाई आत्मबल बढाउने गरेको बैद्य रजमान चौधरीले बताउनु भयो ।

अनोज थारु, रेडियो गुर्वावा एफ.एम बाँसगढीमा कार्यरत छन् ।

तपाइको मत