केपी ओली-माधव नेपाल बिचको एमाले वार्ता सकारात्मक
- बुधबार असार २३ , २०७८
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को विवाद समाधानका लागि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।
नेता भीम रावलका अनुसार एकता कार्यदलको सहमति अनुसार शीर्ष नेताबीचको छलफल सकारात्मक भएको जानकारी दिए । सुरेन्द्र पाण्डेले अध्यक्ष ओली र नेपालबीच वान टु वान वार्ता भएको जानकारी दिए । नेता रावल जस्तै नेता पाण्डेलेसमेत वार्ता सकारात्मक भएको जानकारी दिए ।
नेताहरुबीच भएको छलफलमा ठोस सहमति बनेको वा नबनेको भन्ने विषयमा नेताहरुले प्रष्ट रुपमा बताएका छैनन्। पार्टी एकताका लागि खाका तयार पारेर कार्यदल सदस्यले शीर्ष नेतालाई साथमा राखेर त्यसमा हस्ताक्षर गर्ने तयारी गरेका थिए । कार्यदलको योजना अनुसार शीर्ष नेताको वार्तापछि एकताको मस्यौदामा हस्ताक्षर हुन सकेन । बैठक स्थलबाट अध्यक्ष ओली र नेता नेपाल सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिन चाहेनन् । कार्यदल सदस्यले भने भोलि फेरि कार्यदलको बैठक बस्ने बताएका छन् ।
‘कुराकानी सकारात्मक ढंगले अगाडि बढेको छ ।’ पत्रकारसँग प्रतिक्रिया दिँदै सुरेन्द्र पाण्डेले भने, ‘भोलि कार्यदलको बैठक बस्छ ।’
ओली र नेपालसँगै वार्तामा ओली पक्षका ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङ सहभागी थिए भने वरिष्ठ नेता नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति थियो ।