मधुवन नगरपालिकामा संचालित पसलहरु अनुगमन
- बुधबार असार २३ , २०७८
चुरेकुञ्ज, बर्दिया । घरेलु तथा साना उद्योग कार्यालयको अनुगमन टोलीले बर्दियाको मधुवन नगरपालिका स्थित सानोश्री बजारका विभिन्न पसलहरुबाट सूर्तिजन्य पदार्थ एवम् म्याद गुज्रिएका सामाग्रीहरु फेला पारेको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको टोलीले अवैध तथा अखाद्य सामाग्रीहरु फेला पारेको हो ।
सानोश्री बजारमा अनुगमनका क्रममा केही किराना पसलहरुबाट अखाद्य सामाग्री एवम् अवैंध सूर्तिजन्य पदार्थहरु फेला पारिएको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए । अनुगमनका क्रममा चकलेट, चाउचाउ लगायतका जंक फूडहरु अखाद्य एवम् अवैध फेला पारिएको हो । फेला पारिएका अवैंध सामाग्रीहरु आन्तरिक राजस्व कार्यालय गुलरिया, बर्दियामा वुझाईएको उनले जानकारी दिए ।
अनुगमन टोलीले किराना, मेडीकल, एग्रोभेट लगायतका ब्यवसायहरु अनुगमन गरेको हो । अनुगमनका क्रममा दर्ता प्रमाण पत्रहरु नभेटिएको, झुण्डाएर देखिने गरी नराखिएको पाईएको छ । त्यस्ता पसलहरुलाई तिन दिन भित्र घरेलु कार्यालय गुलरियामा प्रमाण पत्रहरु पेश गर्न निर्देशन दिईएको छ । अखाद्य एवम् अवैध सामाग्री विक्री वितरण नगर्न सचेत पारिएको शर्माले प्रष्ट्याए ।
