fbpx

बर्दिया जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालनको अनुमति

बर्दिया जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालनको अनुमति


हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारीगर्दै जिल्लाभित्र रहेका यातायात व्यवसायीलाई कोभिडसँग सम्बन्धित स्वास्थ्य मापदण्ड पालनागर्दै सार्वजनिक यातायात सञ्चालन गर्न पाउने जनाएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले स्वास्थ्यसँग सम्बन्धित १२ बुँदे नियमको पालनागर्दै सार्वजनिक यातायात सञ्चालन गर्न पाउने सूचना जारी गरेका हुन् ।

जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायात सञ्चालनका लागि जिल्लाका स्वास्थ्य कार्यालय, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सम्बन्धित यातायात व्यवसायी लगाएको संयुक्त सहभागीतामा गठित कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड र प्रशासनले तोकेको परिधि भित्र रहेर यातायात सञ्चालन गर्न दिएको हो ।

यातायात सञ्चालन गर्दा अनिवार्य रूपले सवारी साधनलाई निस्क्रमण गर्ने सेनिटाइजरको व्यवस्था गर्ने र प्रयोग गर्ने, चालक सहचालक यात्रु सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, यात्रुको ज्वरो मापन गर्ने, मास्क नलगाएका यात्रुलाई गाडीमा प्रवेश नदिने रु ५ लिएर मास्क यात्रुलाई दिन सकिने सूचनामा जारी आदेशमा बताईएको छ ।

बिहान ६ बजे देखि बेलुका ७ बजे सम्म निश्चित सिट क्षमता भन्दा बढी यात्रु नराख्ने गरी यातायात सञ्चालन गर्न पाईने छैन । सूचना विपरीत हुने गरी यातायातका साधन सञ्चालन गर्ने यातायात व्यवसायीलाई संक्रामक रोग ऐन २०२०, स्थानिय प्रशासन एन २०२८ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने समेत जानकारी गराइएको छ ।

तपाइको मत