धान उत्पादनमा वृद्धि : खाद्यसुरक्षा, आत्मनिर्भरता र समृद्धि
- मंगलबार असार १५ , २०७८
१८ औ राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव २०७८ को अवसरमा सम्पुर्ण कृषक दाजुभाइ तथा दिदिबहिनीमा हार्दिक शुभकामना !
मानो खाएर मुरी उब्जाउने महिना अर्थात् असार १५ गतेका दिन आज देशभर १८ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । हाम्रो देश कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् ।
आजका दिन असारे भाकामा लोक गित गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन चलाएको बुझ्न सकिन्छ ।
विश्वको जनसङ्ख्याको आधा अर्थात् साढे तीन अर्ब मानिसको मुख्य खाना नै भात हो । नब्बे ९० प्रतिशत धान एसिया मै उत्पादन हुने गर्छ । उत्पादनको आधा हिस्सा एसियाली मै खपत हुने गरेको छ । नेपालको अधिकाश स्थानमा धान उत्पादन हुने गरेको छ । नेपालमा धानको उत्पादन वृद्धि हुँदा आर्थिक वृद्धिदर पनि बढ्ने गरेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा २९.४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६०.४ प्रतिशत जनसङ्ख्या आश्रित छन् । कृषि ग्राहस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ । खेती गरिने ५०.२ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ ।
खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलमै पाइन्छ । विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गर्छ । संसारमा १६ करोड ३२ लाख हेक्टरमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ खेती गरिने जमिनको ५० दशमलव २ प्रतिशत जमिनमा धान खेती गरिन्छ भने विश्वमा धान उत्पादनमा नेपाल १८ औं स्थानमा पर्दछ ।
आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कृषि विकास मन्त्रालयबाट धानबाली प्रवर्द्धनमा रणनीतिक प्रयासको आवश्यकता महसुस गरी दुई बाली धान खेतीका लागि चैते धान र बर्षे धान प्रवर्द्धनको प्रयास समेत भइरहेको छ ।
नयाँ मुलुक भनेर चिनिने बर्दिया जिल्ला धान उत्पादनको दृष्टिले नेपाल मै प्रख्यात छ । नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत बर्दियालाई धान सुपर जोन घोषणा गरेको छ । राष्ट्रिय गौरबको आयोजना बबई सिचाई आयोजना र कर्णाली सिचाइ आयोजना जस्ता ठुला आयोजना र अन्य साना आयोजनाहरु तथा डिप ट्युबेलमा माध्यमबाट सिचाईको प्रवन्ध मिलाउने प्रयत्न गरिएको छ । राष्ट्रिय गौरबको आयोजना भेरी डाईभर्सन पूरा भए पछि बर्दियाको अधिकाश स्थान र बाकेको पश्चिमी भाग समेतमा बाह्रै महिना सिचाई पुर्याई धान उत्पादनमा वृद्धि गर्ने लक्ष नेपाल सरकारले लिएको छ ।
अहिले कोभिड–१९ भाइरस विश्व जगतमा नै प्रमुख चिन्ताको विषय बनेको छ । कैयौँ शक्तिशाली देश पनि यसका सामु निरीह बनेका छन् र ती देशको अर्थतन्त्र लगायत सामान्य जनजीवन पनि ठप्प देखिन्छ । विश्व भाइरस संक्रमण नियन्त्रणमा कतिको सफल हुनेछ र यसले मानव अस्तित्व कहाँ पु–याउने हो, त्यो अनुमान लगाउन सक्ने अवस्था छैन ।
कोभिड १९ का कारण वैदेशिक रोजगारका लागि अन्यत्र पुगेका नागरिक ठूलो संख्यामा नेपाल फिर्ता आएका छन् । कोभिड १९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकोले कृषिकार्यलाई नै प्राथमिकता दिन आवश्यक रहेको छ । महामारीले एकातिर खाद्य संकटको अवस्था सिर्जंदै छ भने अर्कोतिर यो विषम परिस्थितिले अहिलेसम्म थला परेको कृषि क्षेत्रको उत्थान गर्ने एउटा अवसर पनि बनेको छ ।
कृषिमा प्रयाप्त जनशक्तिको आवश्यकता पर्ने र विदेशबाट फर्किएका तथा स्वदेशमै बेरोजगार युवालाई व्यावसायिक तथा एकीकृत खेती प्रणालीमा आबद्ध गराउन ठाकुरबाबा नगरपालिकाले पनि कृषिमा आधुनिकिकरण, यान्त्रिकरण र व्यवसायिकरणमा जोड दिदै आईरहेको छ । कृषि क्षेत्रलाई प्राथमिकताका साथ बजेट बिनियोजन गर्दै आईरहेको छ । कोरोना कहर कै बिच कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न नगरपालिकाले सहकारी मार्फत युवा स्वरोजगार कोषको व्यवस्था गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।
धान लगायत विभिन्न खाध्यान्न बाली तथा नगदेबाली, मसला जन्यबालीको उत्पादनका आधारमा अनुदानको ब्यबस्था गरेको छ । यसका साथै स्थानीय बिउ–बीजनको संरक्षण र प्रवर्दन गर्ने, समयमै मल, बीउ उपलब्ध गराउने, त्यसैगरी अनुदानमा गुणस्तरीय बीउ उपलब्ध गराउने, उत्पादित बीउ भण्डारणको लागि समन्वय गर्ने । सिचाइको लागि ट्युबेलमा अनुदानको ब्यबस्था गरेको छ । कृषक्को खेतबारी मै सेवा प्रवाहको लागि सवै वडाहरुमा कृषि प्राविधिकको व्यवस्था गरेको छ ।
कृषक दाजुभाइ तथा दिदिबहिनीहरु,
आउनुहोस, कर्णाली र बबईको पानीले सिंचित उर्वर कृषि भुमि रहेको हाम्रो ठाकुरबाबा नगरपालिकामा तपाईं हामी सवै मिलेर कृषि उत्पादनले हराभरा बनाऔ, कृषि उपज बढाऔ, आम्दानी बढाऔ
असार १५ को सवैमा हार्दिक शुभकामना !!!
घननारायण श्रेष्ठ नगरप्रमुख, ठाकुरबाबा नगरपालिका, बर्दिया