fbpx

बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा

बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा

विष्णु अधिकारी, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । नगरका सम्पूर्ण बालबालिकालाई खोप प्रदान गरि रोगसँग लड्ने क्षमतामा बृद्धि गराउँदै मृत्युदरमा कमी ल्याउने लक्ष्यका सहित बारबर्दियाले पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरेको छ ।

पूर्णखोप घोषणा सभाका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सदस्य तिलकराम शर्माले नागरिकको पहिलो आवश्कता नै स्वास्थ्य भएकाले स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा पुर्णखोप सुनिश्चित गर्न सफल भएकोमा खुशी व्यक्त गरेका छन् । उनले बालबालिका भविष्यका कर्णधार भएकाले खोपका माध्यमबाट रोगसंग लड्न सक्ने क्षमता विकास गराउन सबैले हातेमालोगर्दै अगाडी बढ्नु पर्नेमा जोड दिएका छन् ।

नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवा नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ । खोप सेवा नेपाल सरकारको पहिलो प्राथमिकता मध्येको मुख्य आवश्यकता तथा आधारभुत सेवा भएकाले लक्षित वर्गले खोप पाउने अधिकार संविधानमा सुनिश्चि गरेको छ । बर्दिया जिल्लाका विभिन्न स्थानीय तह र सरोकारवालाहरुको सहभागितामा नियमित खोप सुदृढीकरण एवं स्थानीय स्रोतको अधिकतम प्रयोग गरि स्थानीय तहहरुलाई पूर्ण खोप नगरपालिका घोषणा गर्ने क्रम जारी छ ।

बारबर्दिया नगरपालिकाले स्वास्थ्यकर्मीहरुको संलग्नतामा १५ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरेको हुँदा पूर्णखोप घोषणा गर्न नगरपालिका सफल भएको बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गा बहादुर थारुले बताए । पूर्ण खोप घोषणा गर्न सहयोग गर्ने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कर्मीहरुको ठुलो योगदान रहेको छ ।

उनले महिला स्वास्थ्य स्वयंसेविकाहरु घामपानी केहिको वास्ता नगरी सामाजिक उत्तरदायित्व निभाएकोमा खुलेर प्रशंसा गरे । पूर्ण खोप नगर घोषणा पश्चात यसलाई दिगोपना दिने नगर प्रमुखले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नगर क्षेत्र भित्रको स्वास्थ्य अवस्थालाई थप उचाईमा पु¥याउन जनस्वास्थ्य सम्बन्धि कार्यक्रम र गतिविधिलाई अझ सुदृढ र समय सापेक्ष बनाउने मार्गमा अघि बढिरहेको प्रष्ट्याए ।

बारबर्दिया नगरपालिकामा रहेका ०–१५ महिना सम्मका कुनैपनि बालबालिका खोपबाट बन्चित नरहेको बारबर्दिया स्वास्थ्य शाखाले जानकारी दिएको छ । घोषणा सभा कार्यक्रममा पुर्णखोप नगर घोषणा गराउन सहयोग गर्ने १२ वटै वडाका महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको थियो ।

तपाइको मत