कोरोना पोजेटिभ घरधुरीलाई वडाको पोषणयुक्त खाद्यान्न
- बुधबार असार ९ , २०७८
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ६ का कोरोना भाईरस पोजेटिभ देखिएका घरधुरीलाई वडाले पोषणयुक्त खाद्यान्न वितरण गरेको छ । कोरोना जितेका उनीहरुको शारिरिक तन्दुरुस्ती बढाउन पौष्टिक आहारको रुपमा खाद्यान्न दिईएको हो ।
गुलरिया नगरपालिकाकी उपमेयर सुसिला गिरीले महिलाको स्वास्थ्यमा विशेष जोड दिनुपर्ने बताउँदै खाद्यान्न हस्तान्तरण गरेकी छिन् । कोभिड संक्रमण महामारीका बेला महिलाहरु हिंसामा परेको स्मरण गराउँदै उनीहरुलाई हिंसामुक्तगर्दै शसक्त बनाउन नगरपालिकाले आगामी बजेटमा सम्वोधन गर्ने बताईन् । उनले वडाहरुलाई महिलाको हितमा बजेट बनाउन अनुरोध गरेकी छिन् ।
संक्रमित भै कोरोना जितेका वडाका करिव ९५ घरधुरीलाई पोषणयुक्त खाद्यान्न उपलब्ध गराईएको गुलरिया नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष निरज शर्माले बताए । हामीले बडाबाट ५ लाख रुपैया बजेट छुट्ट्याएर प्रति परिवार २५ किलोग्राम मसिनो चामल, अडहरको दाल ५ केजी, तोरीको तेल ३ लिटर, बेसार ५ सय ग्राम, नून १ केजी, अण्डा १ क्यारेट, हर्लिक्स १ केजी, सावुन, सेनिटाईजर २०० एमएल र २५ थान माक्स उपलब्ध गराएका छौं ।
स्वास्थ्य स्वयंसेविकाले संकलन गरेको तथ्यांकको आधारमा हामीले खाद्यान्न उपलब्ध गराएका छौं । यदि कसैको नाम छुटेको भए हामीले पुन समेट्छौ । हस्तान्तरण कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत कोरोना जितेका ब्यक्तीहरु सहभागी थिए ।