बाढीको जोखिममा नदी तटिय सीमा स्तम्भ
- मंगलबार असार ८ , २०७८
यादव आचार्य, गुलरिया । दक्षिणवर्ती नेपाल–भारत सीमाना स्थित नदी तटीय क्षेत्रका दशगजामा गाडीएका सीमा स्तम्भहरु बाढीको जोखिममा छन् । बबई, कर्णाली तथा यिनका सहायक नदीहरुमा पानीको बहाव बढेसँगै निम्तिने बाढी र कटानका कारण सीमा स्तम्भहरु बग्ने र फेला नपर्ने गरेका छन् ।
बर्दियाको ८३ किलोमिटर खुला सीमानामा मुख्य, सहायक र साना गरी २ सय ४५ वटा सीमा स्तम्भहरु गाडीएका छन् । नेपाल–भारत सीमानामा ४२ वटा मुख्य, ६८ वटा सहायक र १ सय ३५ वटा साना स्तम्भहरु हुन् । बर्दियाको सीमानामा मुख्य ६ वटा सहायक ८ ओटा र साना २७ वटा गरी ४१ वटा स्तम्भहरु सावुत रहेको शसस्त्र प्रहरी बल नम्वर ३१ गण हेडक्वाटर बर्दियाका गणपति शसस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले बताए ।
सीमा क्षेत्रमा मुख्य सीमा स्तम्भहरु २६ वटा मर्मत गर्नुपर्ने, ५ वटा पुर्ननिर्माण गर्नुपर्ने अवस्थामा छन् । मुख्य ५ ओटा सीमा स्तम्भ फेला परेका छैनन् । उनले भने सहायक सीमा स्तम्भहरु मध्ये ३६ वटा मर्मत गर्नुपर्ने, ८ वटा पुर्ननिर्माण गर्नुपर्ने छन् । ७ वटा खोलाले बगाएको र ९ वटा फेला नपरेको अवस्थामा छन् । साना स्तम्भहरुपनि २ वटा मर्मत गर्नुपर्ने २३ वटा पुर्ननिर्माण गर्नुपर्ने अवस्थामा छ । साना मध्ये २४ वटा खोलाले बगाएको र ५८ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् ।
बर्दियामा सहायक ७, सानो २५ गरी ३२ वटा सीमा स्तम्भहरु खोलानदीले बगाएका छन् । मुख्य ५, सहायक ९ र साना ५८ गरी ७२ वटा सीमा स्तम्भहरु हराएका छन् फेला परेका छैनन् । बबई र कर्णाली नदीका कारण सीमा स्तम्भहरु कटान र बाढीको जोखिममा परी हराउने गरेको प्रष्ट्याउँदै उनले थपे कार्यालय स्थापनापछि रेकर्ड राख्न थालेपछि स्तम्भहरु हराएका छैनन् । जंगली हात्तीले समेत सीमा स्तम्भ भत्काएको छ । स्तम्भको सुरक्षार्थ गस्तीलाई तिव्रता दिएका छौं ।
शसस्त्र प्रहरी उपरिक्षक लगायत विओपी कालावञ्जरका शसस्त्र प्रहरी निरिक्षक तेजबहादुर बोहोराको कमाण्डमा रहेको गस्तीले केही महिनाअघि गुलरिया नगरपालिका वडा नम्वर १० मस्जिदिया घाट स्थित बबई नदीको पूर्वी किनारमा ६७१÷१ नम्वरको सानो सीमा स्तम्भ फेला पारेको छ । उत्तर प्रदेस भारतको बहराईच जिल्ला लौकाही ग्राम पंचायतसँग स्तम्भ फेला परेको सीमा जोडीएको छ । स्तम्भको जीआर एन २८ डी १० एम ४९ सेक, ई ८१ डी २३ एम ११ सेक रहेको प्रमुख रावतले जानकारी दिए ।
स्तम्भ फेला पारेपछि जिल्ला प्रशासन कार्यालय बर्दियामा जानकारी दिई शहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगञ्ज र नापी कार्यालय बर्दियामा बोधार्थ दिएका छौं । सानो स्तम्भ बबईभादा नदी ढीकको खोंचमा बालुवाले ढाकेको अवस्थामा भेटिएपछि हामीले सरसफाई गरेका हौं उनले भने । अन्य फेला नपरेका पिलरहरुको पनि खोजी गरीरहेका छौं ।
साभार : अन्नपूर्ण पोस्ट्बाट ।